Navigation
Photos

रुडुकले वाटर फिल्टर जडान गरेपछि शुद्ध पिउनेपानीको पहुचमा विद्यार्थी

Aug 05, 2025

डडेल्धुरा । विद्यालयमा युभी वाटर फिल्टर जडान गरिएपछि शिक्षक, विद्यार्थीहरु शुद्ध पिउनेपानीको पहुचमा पुगेका छन । भित्रिमधेश स्थित आलिताल गाउँपालिका वडा नं. ८ डोला गाउँमा रहेको दुर्गा माविमा युभी वाटर फिल्टर जडान गरिएको छ । ६ सय बढी विद्यार्थी संख्या रहेको विद्यालयमा वाटर फिल्टर जडान भएपछि शिुद्ध पिउनेपानीमा विद्यार्थीको पहुच पुगेको हो ।

वडा नं. ३ मा रहेको आलितालबाट पाईप मार्फत विद्यालयमा खानेपानी पुगाईएको थियो । तर वर्षात र हिउदमा ताल धमिले हुने, तालमा फैलिने जलकुम्भिका कारण तालको फोहोर दुषित पानी पिउन शिक्षक विद्यार्थी बाध्य थिए । हाल ग्रामिण महिला विसका तथा एकता केन्द्र (रुडुक)ले विद्यालयमा युभी वाटर फिल्टर जडान गरिदए पछि स्वच्छ पिउनेपानी उपभोग गर्न पाईएको विद्यालयका प्रधानाध्यापक मानबहादुर रावतले बताए ।

विद्यालयमा वाटर फिल्टर जडान गरिएपछि विद्यार्थीले विद्यालय बाहिर गाउँवस्तिमा गएर पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए । उनका अनुसार विद्यालयका धारामा आलितालको धमिलो फोहोर पानी आउदा विद्यार्थीहरु विद्यालय बाहिर गाउँवस्तिहरुमा पुगेर पानी पिउने गर्दथे । अब विद्यालयमै शुद्ध पिउनेपानी उपलब्ध भएपछि समयको बचतसंगै पढाईमा ध्यान जाने दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आउने छ ।

विद्यालयमा हालसम्म स्वच्छ पिउने पानीको व्यवस्था नै थिएन । विद्यालय व्यवस्थापन समितिको बैठक राखेर रुडुकलाई स्वच्छ पिउने पानीका लागि सहयोग गर्न आग्रह गरेपछि विद्यालयले फिल्टर पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर देउवाले बताए । रुडुकले करिब दुई लाख बढी लागत रकममा विद्यालयमा युभी वाटर फिल्टर जडान गरिदिएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले बताए । उनका अनुसार अत्याधुनिक फिल्टरद्धारा एक घण्टामा बिद्युतको सहायतामा एक हजार लिटर पानी फिल्टर गर्न सकिन्छ ।

पछिल्ला वर्षहरुमा यहाँका सामुदायिक विद्यालयहरुमा पानी फिल्टर गर्न विभिन्न उपकरणहरु जडान गर्ने क्रम बढेको छ । यस अघि जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ खलंगामा रहेको महेन्द्र मावि र वडा नं. ७ पोखरामा रहेको उग्रतारा माविमा पनि वाटर फिल्टर जडान गरिएको अमरगढीका नगर प्रमुख डिल्लीराज जोशीेल जानकारि दिए ।